काठमाडौं । गत वैशाखमा नदी किनाराबाट विस्थापित गरिएका सुकुमवासीलाई उपत्यकाका तीन ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।
काठमाडौंको नागार्जुन, भक्तपुरका दुई स्थान बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र खरिपाटीमा रहेको विद्युत प्राधिकरणको भवनमा सात महिनादेखि सुकुमवासीहरू बसिरहेका छन् ।
थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रबाट हटाएका सुकुमवासीलाई ती स्थानमा राखिएको छ ।
बोडेस्थित कृषि विकास बैंकको भवनमा बसिरहेकाहरूलाई ठाउँ खाली गर्न उर्दी जारी गरेपछि सुकुमवासीहरू भयभित र आक्रोशित बनेका छन् । उनीहरुले आज रित्ता थाल ठटाएर प्रदर्शन गरेका छन् ।
उनीहरूलाई शुक्रबार दिउँसो २ बजेसम्म ठाउँ खाली गर्न भक्तपुर प्रशासनले सूचना टाँसेको छ । सोही सूचनाका आधारमा बिहीबार सुरक्षाकर्मीले माइकिङ मार्फत हट्न निर्देशन दिएका छन् ।
बोडेमा १९ परिवारका ५९ जना यहाँ बस्दै आएका छन् । सात महिनादेखि कृषि विकास बैंकको भवनमा बसोबास गर्दै आएका सुकुमवासीलाई अकस्मात ठाउँ खाली गर्न निर्देशन आएपछि उनलाई अस्थायी स्थायी बसोबासको व्यवस्था नहुँदै सरकारले हट्न निर्देशन दिएपछि सरकारी सुकुमवासीहरू सरकारी निर्णयको विरोधमा उत्रेका छन् ।
सरकारले वैकल्पिक आवास तथा उचित व्यवस्थापनको सुनिश्चितताबिना हटाउन लागेको सुकुमवासीहरूले बताएका छन् ।
त्यस स्थानमा बसिरहेका १९ परिवारमा ७ परिवार भूमिहीन नठहरिने सरकारको दाबी छ । अन्य १२ परिवारलाई सम्वन्धित पालिकामा जग्गा उपलब्ध गराउने निस्सा समेत प्राप्त भएको प्रशासनको दाबी छ ।
भूमि समस्या समाधान समितिले उक्त अभिलेख भेटेको र त्यसैको आधारमा ठाउँ खाली गर्न सूचना निकालिएको प्रशासनको भनाइ छ ।
जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन तथा सुकुम्बासी नठहराउने निर्णय पुनरावलोकन गरी प्रत्येक परिवार भूमिहीन तथा सुकुम्बासी हुनुपरेको कारण, वास्तविक जग्गा, आवासीय र आर्थिक अवस्थाबारे पीडित परिवारसँग प्रत्यक्ष संवाद तथा निष्पक्ष स्थलगत छानबिन गर्न सुकुमबासीहरूको माग छ ।
बोडेको होल्डिङ सेन्टरमा बस्दै आएका झवरलाल उराउले सरकारले जग्गा छ भनी सूचना निकाले पनि स्वयं व्यक्तिहरू त्यस ठाउँमा जाँदा आफ्नो नाममा भूमि नभेटेको दाबी गरे ।
उराउले अनलाइनखबरसँग भने, ‘संविधानमा कोरिएका अधिकारका कुराहरू सरकारले सोच्नुपर्छ । होइन भने हामी फेरि पनि थापाथली गएर बस्छौं ।’
सात महिनाको अवधिमा सुकमवासीको समस्या समाधान गर्नु भन्दा पनि सरकारी पक्षले आफूलाई तर्साउने मात्रै कार्य गरिरहेको उराउ बताउँछन् ।
महानगरका बासिन्दा आफू भएको सुनाउँदै उराउले काठमाडौं–१ को मतदाता भएको बताए । उराउ भन्छन्, ‘जुन पालिकामा बस्दै आएका थियौं । त्यही बस्न पाउनुपर्छ । म काठमाडौंको मतदाता हुँ, म कहाँ बस्न जाने त ?’
बोडेमा रहेका सुकुमवासीलाई हट्न सरकारले निर्देशन दिएपछि अन्य क्षेत्रमा बस्दै आएकाहरु पनि त्रसित बनेका छन् ।
तीन ठाउँका सुकुवासीका ११ जनाले संयुक्त विज्ञप्ति निकालेर हटाइएको स्थानको जिल्ला प्रशासन, सम्बन्धित सरकारी निकाय र पीडित प्रतिनिधिबीच संवाद गरी समयसीमा सहितको कार्ययोजना बनाउन सरकारसँग उनीहरूले माग गरेका छन् ।
खरिपाटीमा विद्युत प्राधिकरणको भवनमा सात महिनादेखि बस्दै आएका ७० वर्षीय पवन गुरुङले हट्न भनिएपछि यहाँ बस्नेहरू पनि अनिश्चित आवासले चिन्तित भएको बताए ।
गुरुङ भन्छन्, ‘हामी भोको हुनुपरेको त छैन । अहिलेसम्म बस्ने ठाउँ निश्चित नहुने र यही ठाउँ पनि खाली गर्न भनियो भने के गर्ने ? कहाँ जाने ?’
खरिपाटीमा ३७ परिवारका सदस्यहरू बस्दै आएका छन् । गुरुङ स्वयं कीर्तिपुरको अस्थायी सेल्टरमा बाढी पसेपछि यहाँ सरेका थिए ।
सुकुमबासी बस्तीबाट हटाएकालाई लगत संकलन गरेर १५ दिनभित्र व्यवस्थापन गर्ने सरकारी प्रतिवद्दता थियो ।
७ महिनासम्म स्थायी आवासको व्यवस्था हुन सकेको छैन भने सरकारले बसिरहेको ठाउँ छोड्न उर्दी जारी गरेको छ ।
‘बोडेमा हटाउन लागेको थाहा पायौं । यो जाडोमा हटाएर हामी कहाँ जाने होला त ? हामी यही सोचिरहेका छौं,’ खरिपाटीको अस्थायी सेल्टरमा बसिरहेका गुरुङले भने, ‘मन्त्रीज्यूले जिल्ला जिल्लामा भूमिहीनलाई जग्गा वितरण गरेको सुनिरहेका थियौं । हामीले पनि आशा गरिहेको बेला हट्न भनेपछि हामी जाने कहाँ हो ?’
भूमि व्यवस्था मन्त्रालय, अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिमा छलफल गर्न आफूहरु बीचमा सल्लाह भइरहेको बेला सरकारले हट्न सूचना निकालेको गुरुङ बताउँछन् । अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको उक्साहटमा सुकुमवासीहरू हट्नुपरेको गुरुङको बुझाइ छ ।
अतिक्रमित बस्तीका हटाउन समितिले सरकारलाई सुझाव दिएको आधारमा केन्द्रीय सरकारको सक्रियतामा बस्ती खाली गरिएको थियो ।
सरकारले हट्न निर्देशन दिए पनि त्यसलाई स्वीकार नगर्ने सुकुमवासीले अडान लिएका छन् । सरकारले दिएको दिएको निर्देशन स्विकार नगर्ने बोडेमा कृषि विकास बैंकको भवनमा बस्दै आएका सुकुमवासीका अगुवा उराउले बताए ।
‘सरकारले २ बजेसम्म हट्न भनेको छ । हामी यहाँबाट हट्दैनौं । सरकारले हटाउन आए प्रतिवाद गर्छौं,’ उराउले भने ।





























