लगानीमैत्री वातावरण बनाउन कांग्रेसले भूमिका निर्वाह गर्नुपर्दछ : प्रबल थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रबल थापाले लगानीमैत्री वातावरण बनाउनका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य थापाले गैरन्यायिक धरपकडविरुद्ध उभिएर कांग्रेसले लगानीमैत्री वातावरण बनाउन भूमिका खेल्नुपर्ने बताए ।

अकासिँदो महँगीले थिचिएका गृहिणी र मध्यमवर्गीय परिवारको भान्सा जोगाउन, विभिन्न कुराले सटर बन्द गर्न बाध्य साना तथा मझौला व्यवसायीलाई कर्जा पुनर्तालिकीकरणको राहत दिलाउन, र ठूला उद्यमीमाथि भइरहेका गैरन्यायिक धरपकडविरुद्ध लगानीमैत्री वातावरणको पक्षमा कांग्रेस स्पष्ट उभिनुपर्छ,’ थापाले भने ।

इतिहासको ब्याज खाएर आजको समयको चुनौती पार नलाग्ने बताउँदै थापाले नागरिकको दु:ख, चिन्ता र अनिश्चिततामा कांग्रेस कहाँ उभिएको छ भन्ने प्रश्न अस्तित्वको मुख्य कसी भएको बताए । ‘आज हामी तयार छौँ अभियानलाई सङ्गठन परिचालनको औपचारिकतामा सीमित नराखी, जनताको गुम्दै गएको विश्वास पुन: आर्जन गर्ने राष्ट्रिय जनसरोकार अभियानका रूपमा अगाडि बढाउन म मेरा केहि कुरा राख्न चाहन्छु,’ थापाले बैठकमा भने ।

राज्यको बेवास्ता र त्रासले छटपटाइरहेका नागरिकको आवाज कांग्रेस बन्नुपर्न थापाले बताए । सुकुम्वासी, बाढीबाट विस्थापित, श्रमिक, युवा लगायतको भरोसा कांग्रेस हुनुपर्ने उनले बताए । मानवीय सेवासँग सङ्गठनलाई जोड्नुपर्ने थापाले बताए ।

‘एनपीएल जस्ता प्रतियोगिताले देशलाई एउटै सूत्रमा जोड्ने उत्साह जगाएको छ । तर, एन्फा जस्ता निकायको अकर्मण्यताले राष्ट्रिय लिगसमेत नहुँदा खेलाडी निराश छन् । भलिबलदेखि ई–स्पोर्ट्स सम्मका हरेक खेलकुदलाई समेट्दै पार्टीको खेलकुद विभागलाई सशक्त बनाएर युवा पुस्तासँग जोडिनुपर्छ,’ थापाले बैठकमा प्रस्ताव राखे, ‘त्यसैगरी, वडा तहदेखि नै ’कांग्रेस ब्लड बैंक तथा डेटाबेस’ निर्माण गरौं, ताकि देशको जुनसुकै कुनामा रगतको आपत पर्दा हाम्रा क्रियाशील सदस्यहरू तत्काल जीवनरक्षक बनेर उभिन सकुन् ।’