काठमाडौं । नेपालका उद्योगले आफ्नो उत्पादन क्षमताको आधामात्र उत्पादन गरिरहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०८२/८३ वार्षिक प्रतिवेदन अनुसार उद्योगहरूको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमात्र छ ।
समीक्षा अवधिमा उद्योगको उत्पादन अघिल्लो आवको तुलनामा कम भएको छ । २०८१/८२ मा उद्योगहरूको क्षमता उपयोग ५१.४३ प्रतिशत थियो ।
केन्द्रीय बैंकका अनुसार भटमास तेल उद्योगको क्षमता उपयोग सबैभन्दा धेरै ९२.४१ प्रतिशत छ । वनस्पति घिउ उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम २.३६ प्रतिशतमात्र छ ।
राष्ट्र बैंकले अध्ययनमा समेटेका उद्योगमध्ये भटमास तेल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चिनी, चाउचाउ, प्रशोधित चिया, मदिरा, बियर, हल्का पेय पदार्थ, धागो, पश्मिना, गार्मेन्ट, गलैँचा, काठ चिरान, रोजिन, रङ, इँटा, सिमेन्ट, कंक्रिट, घरेलु धातुका सामान, आल्मुनियम उत्पादन, टान्स्फर्मर र कपडाको जुत्ता उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ ।
त्यस्तै वनस्पति घिउ, तोरी तेल, प्रशोधित दूध, चामल, चकलेट, चुरोट, सिन्थेटिक कपडा, जुटका सामान, प्लाइउड, कागज, औषधि ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, ड्राई सिरप, लिक्विड, साबुन, प्लास्टिक सामान, पोलिथिन पाइप, फलामे छड तथा बत्तीको सामान, स्टिलजन्य उत्पादन, जीआई तार, जीआई पाइप, बिजुलीका तार र केबुल, टायर तथा ट्युब, छालाको जुत्ता र चप्पल, उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको छ ।
समीक्षा वर्षमा कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको उद्योगको औसत क्षमता उपयोग बढेको छ । राष्ट्र बैंकका अनुसार बागमती र कर्णाली प्रदेशको उद्योगको औसत क्षमता उपयोग घटेको छ ।
उद्योग स्थापना तथा सञ्चालनमा प्रक्रियागत जटिलता हुनु, उद्योग सञ्चालनका लागि राजनीतिक अस्थिरता, कमजोर औद्योगिक पूर्वाधार सुविधा, दक्ष जनशक्ति अभाव, न्यून उत्पादकत्वलाई केन्द्रीय बैंकले मुख्य समस्या भनेको छ ।
निर्यातयोग्य वस्तु विविधीकरणमा कमी, सडक पूर्वाधार समयमै पुननिर्माण नहुँदा कच्चापदार्थ ढुवानी र उत्पादित वस्तु बजारीकरणमा समस्या उत्पन्न हुनु, युवा विदेश पलायन हुनाले श्रमिक अभाव हुनु, स्वदेशमै लगानी गरी मुलुकमै स्वरोजगारका अवसर बढाउने तथा विश्वासिलो औद्योगिक वातावरण सिर्जना गर्नु, गैरभन्सारजन्य अवरोधका कारण निर्यातमा अवरोध कायम रहनु तथा सरकारले पूँजीगत खर्च गर्न नसकेका कारणलाई समेत केन्द्रीय बैंकले समस्या भनेको छ ।
राष्ट्र बैंकका अनुसार प्राकृतिक स्रोत उपलब्धता, बढ्दो बैंकिङ पहँुच, घट्दै गरेको ब्याजदर, स्वदेशी वस्तु उत्पादन र प्रयोगमा सरकारको प्राथमिकता, आधुनिक प्रविधि प्रयोग, प्राकृतिक प्रकोप लगायत विपत्तिका कारण समयमै पूर्वाधार, आयोजना पुनर्निर्माण गर्नुपर्ने आवश्यकताबीच औद्योगिक उत्पादन मागमा वृद्धि हुने सम्भावना लगायत कारण उद्योग क्षेत्रमा राम्रो सम्भावना छ ।
सिमेन्ट, स्टिल, चिया, जस्तापाता, पेन्ट, विद्युतीय केबुल तथा कन्डक्टर लगायत उद्योग आत्मनिर्भरतातर्फ उन्मुख भएकाले यस्ता उत्पादनको आयात घट्दै गई निर्यात प्रवर्द्धन गर्न सकिने सम्भावना छ ।




























