अमेरिकाले इरानी कम्पनी र एक्सचेन्ज हाउसहरूमाथि लगायो नयाँ प्रतिबन्ध

काठमाडौं।अमेरिकाले इरानको अन्तर्राष्ट्रिय वित्तीय कारोबारसँग जोडिएका व्यक्ति, कम्पनी तथा एक्सचेन्ज हाउसहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ।

अमेरिकी अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा दुई दर्जन व्यक्ति तथा संस्थाको नाम समावेश रहेको जनाएको छ। सूचीमा नौ जना इरानी नागरिकसहित तेहरान र दुबईमा सञ्चालन भइरहेका विभिन्न कम्पनीहरू पनि परेका छन्।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार उक्त प्रतिबन्ध इरानको विश्वव्यापी ‘छायाँ बैंकिङ’ नेटवर्कलाई नियन्त्रण तथा विघटन गर्ने उद्देश्यले चालिएको कदम हो। यस नेटवर्कमार्फत अन्तर्राष्ट्रिय रूपमा अर्बौं डलरको रकम स्थानान्तरण हुने गरेको र त्यसबाट इरानले व्यापक आर्थिक प्रतिबन्धका बाबजुद विदेशी मुद्रा तथा वित्तीय पहुँच कायम राख्न सहयोग पुगेको मन्त्रालयको दाबी छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा इरानको अर्थतन्त्र कमजोर हुँदै गएको र उसका नेतृत्व संकटमा परेको टिप्पणी गरेका छन्।

उनका अनुसार आर्थिक संकटमा परेको इरानी सरकारका लागि छायाँ बैंकिङ प्रणाली विदेशी वित्तीय पहुँच कायम राख्ने प्रमुख माध्यम बनेको छ। अमेरिकाले यस्ता अवैध वित्तीय सञ्जाललाई ध्वस्त पार्न प्रतिबन्ध तथा अन्य आर्थिक दबाबका उपायहरू निरन्तर अघि बढाउने जनाएको छ।