जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी, पर्यटन र व्यापारमा नयाँ आशा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको परीक्षण गरिएको छ । डब्ल्यूडीपी ४ डी ४०४०३ नम्बरको दुई इञ्जिन र सात बोगी भएको भारतीय विशेष रेल सेवाले भारत जयनगरदेखि जनकपुरधामको कुर्था स्टेसनसम्म परीक्षण गरेको हो ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झाका अनुसार भारत बिहारको जयनगरदेखि विशेष परीक्षण गर्दै बिहान ११ बजे रेल जनकपुरधाम आइपुगेको थियो । उनका अनुसार प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी हुँदैछ ।

भारतीय उच्च अधिकारी इस्ट सेन्ट्रल रेल्वे हाजिपुरका एडिसनल जेनरल म्यानेजर अमरेन्द्र कुमार, रेल्वेको लिक अप्रेसन म्यानेजर, चिफ सेक्युरिटी कमान्डरसहितको टोली चढेर रेलको परीक्षण गरेका हुन् । परीक्षणको क्रममा जयनगरदेखि कुर्थासम्म नेपालको तर्फबाट पनि अधिकारीहरू सहभागी भएका थिए ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुली, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झा, धनुषाका प्रहरी उपरीक्षक रुपेश खड्का लगायत परीक्षणमा सहभागी थिए ।

आज गरिएको परीक्षणलाई ‘ड्राइ रन’ पनि भनिन्छ । सो क्रममा रेल्वे लिकको अवस्था, सुरक्षा अवस्था लगायतको प्राविधिक परीक्षण गरिन्छ ।

रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार तयारीस्वरूप विशेष रेल सेवाको परीक्षण गरिएको हो ।

‘प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी हुँदैछ । तयारीस्वरूप नै भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा प्राविधिक सहितको टोलीबाट रेल सेवाको परीक्षण गरिएको छ,’ उनले भने ।

उनका अनुसार रेल सञ्चालनका लागि अहिले नै तय भएको छैन । सम्बन्धित निकायहरू परीक्षण गरिरहेका छन् । अपरेसन, व्यवस्थापन, प्राविधिक तथा प्रशासनिक कुराहरूको सबै तयारी पूरा भएपछि रेल चल्ने तय हुन्छ ।

‘चल्ने कुरा अहिले फाइनल भएको छैन । विभिन्न निकायद्वारा परीक्षण हुँदैछ । सबै कुरा कन्फरमेसन भएपछि मात्र रेल चल्ने डिक्लियर हुन्छ,’ उनले भने, ‘कसरी अपरेसन गर्ने, मेन्टिनेन्सका कुराहरू, प्राविधिकदेखि प्रशासनिक कुराहरूमा छलफल हुँदैछ । फिल्डमा रेल चलाएर परीक्षण गरियो । सतप्रतिशत काम सकिएपछि रेल चल्छ ।’

रेल परीक्षणको क्रममा रेल्वे अधिकारी र नेपाल रेल तथा सुरक्षा अधिकारीहरूबीच छलफलसमेत भएको छ । जनकपुरधाम–अयोध्या रेलसेवा सञ्चालनको रूपरेखा भने तयार भएको छैन । सञ्चालनमा नआएसम्म दुवै पक्षबीच विविध पक्षबारे छलफल हुने क्रम चलिरहने छ ।

नेपालको एउटा मात्र जनकपुर–जयनगर रेल सेवा रहेको छ । त्यसकारण जनकपुर–अयोध्या रेल सेवामा हाल भारतीय रेल नै गुड्ने छ । नेपाल पक्षले नेपालतर्फको रेखदेखको जिम्मा लिने प्रबन्ध गरिएको प्रबन्ध सञ्चालक पराजुलीले बताए ।

‘सञ्चालनको मोडालिटी कन्फर्म भएको छैन । अहिले चले पनि भारतीय रेल नै चल्छ । भोलि हाम्रो ट्रेन पनि चल्न सक्छ,’ उनले भने ‘नेपालतिर जेजे हुन्छ, अपरेसनको इस्यु हामी ह्यान्डिल गर्छौं । ट्रेन र भारत पक्षको उहाँहरूले नै हेर्नुहुन्छ ।’

केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

सम्बन्धसँगै व्यापार–व्यवसाय फस्टाउने आशा

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाममा पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमनमा थप सहज हुने अपेक्षा छ । दुवै देशको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ हुने आशासमेत नागरिकमा थपिएको छ ।

दुवै देशको प्रत्यक्ष रेल सेवाले मधेशको राजधानी जनकपुरधामको व्यापार–व्यवसाय फस्टाउने सम्भावनाले व्यवसायीहरू उत्साहित भएका छन् । यसले नेपाललाई नै प्रत्यक्ष रूपमा फाइदा पुग्ने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी बताउँछन् ।

‘विगतको सरकारले नै रेल सेवा सञ्चालनको पहल गरेको थियो । अहिले सुरु हुन लागेको छ । पर्यटकको आवागमनले जनकपुरधामको व्यापार–व्यवसायमा फाइदा पुग्छ नै, साथै आउने पर्यटक देशको विभिन्न ठाउँमा पुग्दा पर्यटन प्रवद्र्धन हुन्छ,’ उनी भन्छन् ।

भण्डारीका अनुसार पटकपटक जनकपुरधाम–अयोध्या हवाई सेवासमेत चल्ने कुरा भए पनि अहिलेसम्म सञ्चालनमा आएको छैन । हाल नेपालको एक मात्र रेल सेवा महोत्तरीको भंगहादेखि भारतको जयनगरसम्म सञ्चालन हुँदै आएको छ ।