नेपाल आइपुगे ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर

काठमाडौँ – नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत् प्रवर्द्धन गर्नका लागि विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन्।

फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरहरूलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि तथा पर्यटनका विविध अनुभव विश्वभरका दर्शकमाझ पुर्‍याउने उद्देश्यले उनीहरुलाई नेपाल बोलाइएको हो।

उनीहरुमध्ये यूएई र ट्युनिसियाका क्रिएटर ३ जना फ्लाई दुबईको विमानबाट सिधैं पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। उनीहरुलाई नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल, बोर्डकै वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्‌का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीका अध्यक्ष संगिता पौडेललगायतले स्वागत गरेका थिए।

त्यसैगरी अन्य क्रिएटरहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा बोर्डका वरिष्ठ अधिकृतद्वय कुन्दन शर्मा र सरोज महर्जनले स्वागत गरेका थिए। यस कार्यक्रमअन्तर्गत क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी त्यहाँका आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्रकृति र पर्यटन गतिविधिसम्बन्धी भिडियो तथा डिजिटल सामग्री उत्पादन गर्नेछन्।

उनीहरूले टिकटकसहितका सामाजिक सञ्जालमार्फत ती सामग्री सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताए।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकबीच यसअघि सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो। उक्त सहकार्यअन्तर्गत सुरु गरिएको ‘#LifetimeExperiences’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियोमार्फत विश्वभरका दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ।

यसपटकको भ्रमणमा सहभागी हुने क्रिएटरहरूमध्ये बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाकी बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी र यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन्।

फ्रान्सका जेरेमी ब्युडेट चितवन पुगेर त्यहाँको वन्यजन्तु, निकुञ्ज तथा थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभवलाई समेट्नेछन्। त्यसैगरी पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमार्फत प्रस्तुत गर्नेछन्।