कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई थान पेस्तोल र गोलीसहित पक्राउ

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्थानीय ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्। उनलाई प्रहरीले आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ।

पक्राउ परेका थापालाई बरामद हतियारसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।