चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदमा पुनः डा. विजयचन्द्र आचार्य चयन भएका छन् । विसं २०७४ वैशाख २४ गतेदेखि तीन वर्ष कार्यकारी निर्देशक भएका थिए ।
अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डा आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार आचार्यले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको उपस्थितिमा अस्पतालका अध्यक्ष डा. योगेन्द्रप्रसाद सिंहबाट शपथ ग्रहण गरेर कार्यभार सम्हाल्ने तालिका रहेको छ ।
अस्पतालको कार्यकारी निर्देशक पदका लागि भएको खुला विज्ञापनमा आवेदन दिएका सात जनामध्ये छनोट सिफारिस समितिले दिएको सिफारिसका आधारमा डा आचार्यलाई चयन गरिएको हो ।
डा. आचार्यसँगै डा. अजयकुमार झा, डा. उमेश नेपाल, डा. कृष्णसागर शर्मा, डा. गुरुशरण साह, डा. प्रदीप थापा र डा. रञ्जन भक्त भण्डारी अन्तर्वार्ताका लागि छनोट भएका थिए । आचार्य सोही अस्पतालमा कार्यरत चिकित्सक छन्। उनी अस्पतालको महिला क्यान्सर रोग विशेषज्ञ (गाइनो अङ्कोलोजिष्ट) छन्। विसं २०५८ माघ १४ गते मेडिकल अधिकृतका रूपमा आचार्यले अस्पतालमा काम सुरु गरेका हुन् ।
गत वैशाखमा अध्यादेशमार्फत अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल पदबाट हटेपछि निमित्तका रूपमा डा. उमेश नेपालले अस्पतालमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।































