काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक टिप्पणीकार तथा आफ्नै सामाजिक सञ्जाल कम्पनीकी वरिष्ठ सञ्चार सल्लाहकार क्याटी जाचारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरी (प्रवक्ता) मा नियुक्त गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रूथ सोसियलमार्फत जाचारियाको नियुक्तिको औपचारिक जानकारी गराएका हुन् । हाल प्रेस सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएकी क्यारोलिन लिभिटले चालू अगस्ट महिनाको अन्त्यमा पद छाड्ने घोषणा यसअघि नै भइसकेको पृष्ठभूमिमा यो नयाँ नियुक्ति भएको हो ।
आफ्नो आधिकारिक पोस्टमा राष्ट्रपति ट्रम्पले जाचारियाको प्रशंसा गर्दै उनी हाल ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप अन्तर्गतको ट्रूथ सोसियलमा वरिष्ठ सञ्चार सल्लाहकारका रूपमा उत्कृष्ट काम गरिरहेको उल्लेख गरेकी छन् ।
यसअघि जाचारियाले अमेरिकी आन्तरिक सुरक्षा विभाग (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) मा प्रवक्ता तथा सार्वजनिक मामिला सम्बन्धी उपसहायक सचिवको महत्त्वपूर्ण जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेकी छन् । यसका साथै, राष्ट्रपति ट्रम्पले विगतका राजनीतिक चुनावी अभियानहरूमा, विशेष गरी निर्णायक मानिने मुख्य प्रतिष्पर्धात्मक राज्यहरू (स्विङ स्टेट्स) मा आफ्नो रणनीतिक टोलीलाई सफल बनाउन जाचारियाले पुर्याएको योगदानको पनि स्मरण गरेकी छन् ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनकाअनुसार जाचारियालाई यस पदमा नियुक्त गर्नुअघि राष्ट्रपति ट्रम्पले आफ्ना निकटवर्ती सल्लाहकार तथा सहयोगीहरूसँग विस्तृत परामर्श गरेका थिए । वर्तमान प्रवक्ता लिभिट बाहिरिएसँगै ह्वाइट हाउस र सञ्चारमाध्यमबीचको मुख्य समन्वयकारी भूमिका अब जाचारियाको काँधमा आइपुग्नेछ ।































