कोठा खोजिदिने कम्पनीले विभेद गरेको भन्दै सांसदले संसद्‌मै सुनाइन् संवाद

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले कोठा खोजिदिने निजी कम्पनीबाटै जातीय विभेद भएको भन्दै त्यसको विरोध संसद्‌मा जनाएकी छन्।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद विकले लामो समयदेखि कोठा खोज्ने समस्याका कारण माइतीघर मण्डलामा अनशन बसेकी दीपा नेपालीको प्रसंगसमेत उठाइन्। उनले १५० दिनदेखि ‘सरकार, कोठा खै ?’ भन्दै अनशन बसेको घटनालाई स्मरण गराउँदै दलित समुदायमाथि हुने विभेद नयाँ–नयाँ स्वरूपमा देखा परिरहेको बताइन्।

यसै क्रममा उनले कोठा खोजिदिने काम गर्ने एउटा निजी कम्पनीले गरेको विभेदसम्बन्धी संवादको अडियो संसद्‌मा सुनाउने प्रयास गरिन्।

 

‘भर्खरै मात्र एउटा प्राइभेट कम्पनी, जो कोठा खोजिदिने अफिस हो, त्यसले गरेको विभेद सुनाउन चाहन्छु,’ भन्दै सांसद विकले संसद्‌मा रहेको माइकबाट संवादको अडियो सुनाएकी थिइन्।

अडियो स्पष्ट रूपमा सुनिन नसके पनि सांसद विकले त्यसमा भएको संवादको आशयबारे संसद्‌लाई जानकारी गराउँदै यस्ता व्यवहारले विभेदमा परेका समुदायको पीडा थप बढाउने बताइन्।

सभामुख डोलप्रसाद अर्यालले भने संसद्‌मा अडियो तथा भिडियो नसुनाई विषयवस्तुबारे आफ्नो धारणा राख्न सांसद विकलाई आग्रह गरे।

त्यसपछि सांसद विकले जातीय विभेद गर्ने व्यक्ति तथा संस्थामाथि सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरिन्। उनले विभेदका घटनालाई सामान्य रूपमा नलिई दोषीमाथि छिटोभन्दा छिटो कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।