तपेन्द्र ऐडी
मुगु — गाउँमा पछिल्लो समय रुघाखोकीलगायत स्वास्थ्य समस्या बढ्दै गएपछि स्थानीय नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वडा अध्यक्ष बिरजङ शाहीको विशेष पहलमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सहज बनाउन वडा अध्यक्ष शाहीले स्वास्थ्यकर्मी तथा सहयोगी संस्थासँग समन्वय गरी नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने महत्वपूर्ण पहल गर्नुभएको हो। शिविरमा जम्मा १६४ जना नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ। उपचार गराउनेमध्ये महिला ८३ जना र पुरुष ८१ जना रहेका छन्।
स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकलाई गाउँमै सहज रूपमा उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा फेज नेपालकी सरिता घिसिङको टोली तथा स्वास्थ्य क्षेत्रबाट गौरी जैसी र हिमान मल्ल लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
शिविरमा आएका नागरिकको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा उपचार गर्नुका साथै स्वास्थ्यसम्बन्धी सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको थियो। विशेषगरी गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीय नागरिकले सहज र राहत महसुस गरेका छन्।
शिविरमा खटिएका स्वास्थ्यकर्मी तथा टोलीका लागि खानपान, बसोबासलगायत आवश्यक सम्पूर्ण व्यवस्थापनसमेत वडा अध्यक्ष शाहीले व्यक्तिगत रूपमा गरी मिलाउनुभएको बताइएको छ। जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै अध्यक्ष शाहीले दुर्गम बस्तीमा समेत स्वास्थ्य सेवा पुर्याउन देखाउनुभएको सक्रियता स्थानीयस्तरमा प्रशंसनीय बनेको छ।
स्थानीय नागरिक लगभग ६५ बर्सिय नर बहादुर मल्ल अनुसार, समस्या परेपछि कार्यालयमा मात्र बसेर निर्देशन दिनेभन्दा जनताको घरदैलोमै पुगेर सेवा उपलब्ध गराउने वडा अध्यक्ष शाहीको कार्यशैली उदाहरणीय रहेको छ। गाउँमा स्वास्थ्य समस्या देखिनासाथ तत्काल पहल गरी स्वास्थ्यकर्मीको टोली परिचालन गर्नुले अध्यक्ष शाहीको जनताप्रतिको जिम्मेवारी र सेवाभाव स्पष्ट देखिएको स्थानीयको भनाइ छ।
वडा अध्यक्ष शाहीले आगामी दिनमा पनि वडावासीको स्वास्थ्य, शिक्षा तथा आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै ‘जनताको समस्या, वडा अध्यक्षको जिम्मेवारी’ भन्ने भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
दुर्गम क्षेत्रमा सामान्य स्वास्थ्य समस्याका कारण नागरिकले ठूलो दुःख झेल्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै सञ्चालन गरिएको यस प्रकारको घुम्ती शिविरले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याएको छ। वडा अध्यक्ष बिरजङ शाहीको सक्रिय पहलमा सञ्चालित यो घुम्ती स्वास्थ्य शिविर जनताको घरदैलोमै सरकारको सेवा पुर्याउने उदाहरणका रूपमा देखिएको छ।





























