शंकास्पद गाडी प्रकरणमा नयाँ खुलासा रवि जयसवालले प्रयोग गर्दै आएको सवारी

कान्तिपुर सञ्चारगृह अगाडि छाडिएको गाडीको सम्बन्ध रास्वपा नेता रवि जयसवालसँग

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सको मुख्य प्रवेशद्वार अगाडि शंकास्पद अवस्थामा छाडिएको सवारी साधनबारे प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

बा ०१–०३४ च ८४८० नम्बरको गाडी बिहान सञ्चार गृहको प्रवेश मार्ग अवरुद्ध हुने गरी पार्क गरिएको अवस्थामा फेला परेको थियो। त्यसपछि सुरक्षा निकायले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै क्रेनमार्फत गाडी हटाएर नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा गाडीको दर्ता विवरण सानिमा बैंकको नाममा रहेको देखिएको छ। रौतहटको गरुडा नगर पालिकाका प्रमुख कन्थमणि प्रसाद जयसवालले उक्त सवारी आफ्नो परिवारले हाल प्रयोग गर्दै आएको स्वीकार गरेका छन्। उनका अनुसार गाडी केही साता अघि खरिद गरिएको भए पनि स्वामित्व नामसारी प्रक्रिया पूरा नभएकाले दर्ता बैंककै नाममा कायम रहेको हो।

उनले गाडी कहिले काहीँ छोरा रवि जयसवाल स्वयंले तथा आवश्यकता अनुसार चालकले पनि चलाउने गरेको बताएका छन्।

रवि जयसवाल हालै रास्वपामा आबद्ध भएका नेता हुन्। उनलाई पार्टीले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यको जिम्मेवारी दिएको थियो। उनका पिता कन्थमणि प्रसाद जयसवाल भने नेकपा (एमाले)बाट निर्वाचित गरुडा नगर पालिकाका मेयर हुन्।

घटनाको उद्देश्य, गाडी त्यहाँ किन र कसले छाड्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।