रातो पुलबाट खोलामा हाम फालेकी महिलाको शव बल्खुमा फेला

काठमाडौं । काठमाडौंको रातो पुल र कालो पुल बीचको क्षेत्रबाट धोबी खोलामा हाम फालेकी एक महिलाको शव केही घण्टा पछि बल्खु स्थित बागमती नदी किनारमा फेला परेको छ।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ४ बजेतिर करिब ३५ वर्षीया महिलाले धोबी खोलामा हाम फालेको सूचना प्राप्त भए पछि तत्काल उद्धार तथा खोजी अभियान सुरु गरिएको थियो। प्रहरी र अन्य उद्धार कर्मीले खोलाको विभिन्न क्षेत्रमा खोज तलास गरेपछि उनको शव बल्खु स्थित कुमार क्लब नजिक बागमती नदीको किनारमा फेला पारेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक महिलाको हाल सम्म पहिचान खुल्न सकेको छैन। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्ट मार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ। साथै मृतकको पहिचान खुलाउने प्रयास सँगै घटना स्थल आस पासका व्यक्ति सँग सोधपुछ र उपलब्ध सी. सी टी.भी फुटेज समेत अध्ययन भइरहेको प्रहरीको भनाइ छ।