काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल पनि अनिवार्य रूपमा देखाउनुपर्ने भएको छ।
वैदेशिक रोजगार विभागले श्रमिकमाथि हुने ठगी, अस्वाभाविक टिकट शुल्क असुली तथा अनियमितता नियन्त्रण गर्न यस्तो व्यवस्था कडाइका साथ लागू गर्न थालेको जनाएको छ।
विभागका अनुसार विदेश प्रस्थान गर्ने क्रममा श्रमिकले आफ्नो हवाई टिकटसँगै टिकट खरिदको बिल वा भुक्तानी प्रमाण पनि साथमा राख्नुपर्नेछ। विमानस्थलमा जाँचका क्रममा सम्बन्धित निकायले उक्त बिल हेर्न सक्ने व्यवस्था गरिएको छ।
यस कदमले म्यानपावर कम्पनी वा एजेन्टमार्फत श्रमिकबाट अतिरिक्त रकम असुल्ने प्रवृत्तिमा नियन्त्रण हुने विश्वास गरिएको छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकबाट टिकटको नाममा चर्को रकम असुलिएको गुनासो बढेपछि विभागले निगरानी कडा बनाएको हो।
विभागले श्रमिकलाई वैदेशिक रोजगारसम्बन्धी सबै कागजात, श्रम स्वीकृति, पासपोर्ट, भिसा, टिकट र टिकटको बिल सुरक्षित राखेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। साथै, अनावश्यक शुल्क असुलिएमा सम्बन्धित निकायमा उजुरी दिन पनि आग्रह गरिएको छ।






























