रौतहट । रौतहटको गौर नगरपालिका-४ मा स्थित राइजिङ नेपाल सुधार केन्द्रमा भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य सामाजिक सञ्जालमा बाहिरिएको छ । सुधार केन्द्रमा अमानवीय तरिकाले शारीरिक यातना दिएको दृश्य देखिन्छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ । गौरका युवा अभिमन्यु पटेलले यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना गरेका छन् । अर्का युवा सन्जय सहनीले स्थानीय प्रशासनले गम्भीर विषयलाई तत्काल प्राथमिकतामा राखेर सुधार केन्द्रका संचालकहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए ।
सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उदघाटन गरेका थिए । त्यहाँ भर्ना भएका व्यक्तिहरूलाई यातना दिइएको दृश्यले सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको छ । जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले घटनाको यथार्थ विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।
घटना भए÷नभएको बुझेपछी मात्र थाहा हुने भन्दै यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले उल्लेख गरेका छन् ।





















