साथीको हत्या गरेको आरोपमा तीन जना पक्राउ

पर्सा । साथीको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको बीरगन्ज महानगरपालिका २७ का मुकेश प्रसाद यादव अरुणकुमार यादव र मुना तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीअनुसार उनीहरूले आफ्नै साथी इशालप्रसाद कुर्मीलाई हत्या गरेको खुलासा भएको छ । घटनाको विवरणअनुसार इशालप्रसाद कुर्मी र छिमेकी साथीहरू तास खेल्न गएका बेला पैसाको विषयमा विवाद भएको थियो । यहि विवादको क्रममा मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारीले मिलेर इशालप्रसाद कुर्मीलाई हत्या गरी भेडाहा खोलामा फालेको प्रहरीलाई बयान दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साअनुसार फागुन ७ गते वीरगन्ज महानगरपालिका २७ उदयपुर घुर्मी बस्ने जोगिन्द्रप्रसाद कुर्मीको छोरा इशालप्रसाद कुर्मी घरबाट काम गर्न जाने भन्दै निस्किएका थिए । तर अबेर रातीसम्म पनि घर नफर्किएपछि परिवारले फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए ।

निवेदन दर्ता भएपछि प्रहरीले खोजतलास गर्दै फागुन ११ गते भेडाहा खोलामा इशालप्रसाद कुर्मीको तैरिरहेको अवस्थामा शव फेला पारेको थियो। प्रहरीले अनुसन्धान क्रममा फागुन ७ गते नै इशालप्रसाद कुर्मी र उनका साथीहरू तास खेल्न गएका बेला ३५ सय रुपियाँको विषयमा विवाद भएको र यसैको कारणले उनको हत्या गरिएको थियो ।

पक्राउ परेका तीन जनालाई ज्यानसम्बन्धी कसुर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।