काठमाडौं । काठमाडौं । ब्यारेकमै मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले अर्का इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएपछि सशस्त्रकै प्रहरी निरीक्षक विवेक जोशी पक्राउ परेको छ । जिल्ला प्रहरी कास्कीका अनुसार जोशीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। महतको शव आइतबार ब्यारेकको महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा भेटिएको थियो ।
महत पोखराको हुल तथा दङ्गा व्यवस्थापन तालिम केन्द्र लामापाटनमा कार्यरत थिइन् । सिन्धुपाल्चोककी २८ वर्षीया महत २०७२ मा सशस्त्रमा प्रवेश गरेकी हुन् । पक्राउ परेका प्रहरी निरीक्षक जोशी तनहुँमा कार्यरत थिए । महत र जोशी प्रेम सम्बन्धमा रहेको र जोशीकै कारण महतले आत्महत्या गरेको किटानी जाहेरी परेको छ । यो घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बलले प्रहरी नायब महानिरीक्षक लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।






























