राजस्व वृद्धि गर्न भन्सारमा जफत सामग्री लिलाम गर्नुपर्छ : सांसद प्रधान

काठमाडौं । सांसद ध्रुवबहादुर प्रधानले भन्सार कार्यालयमा जफत गरिएका सामग्रीहरू समयमै लिलाम गर्नुपर्ने बताएका छन्। उनले समयमै लिलामी नगर्दा ती सामग्रीहरू नष्ट हुने, मूल्य घट्ने तथा अनियमितता बढ्ने जोखिम रहेको बताए। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानले भन्सार कार्यालयहरूले जफत गरिएका सामग्रीको उचित व्यवस्थापन नगर्दा राजस्व संकलनमा राज्यलाई घाटा भएको उनले बताए ।

उनले भन्सार विभागले स्पष्ट नीति बनाएर लिलामी प्रक्रिया छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। लिलामी प्रक्रियामा पारदर्शिता अपनाउनुका साथै अनावश्यक ढिलाइ हटाउन सरकारलाई आग्रह समेत गरे।

‘महेशपुरमा रु ५० लाख बराबरको चिनी जम्मा भएको छ। समयमा लिलाम गर्न नसक्दा त्यसलाई नष्ट गर्न उल्टै रु पाँच लाख लाग्ने भयो,’ उनले भने, ‘देशभरका अन्य भन्सारमा ट्रक, मोटरसाइकललगायत सवारीसाधन खिया लागेको अवस्थामा छन्। सरकारको राजस्व खेर गइरहेको छ।’