काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा एकजना नेपाली विद्यार्थी मृत फेला परेकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको उक्त होस्टलमा नेपाली विद्यार्थीको शव शंकास्पद अवस्थामा फेला परेको हो ।
अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार मृतक विद्यार्थीको पहिचान विश्वविद्यालयको बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल रहेको खुलेको छ । उनको मृत्युको कारण खुल्न नसके पनि सोही विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत एक पुरुष साथीले दुव्र्यवहार गरेपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । दुईबिचको सम्बन्ध बिग्रेपछि यो घटना भएको समाचारमा जिकिर गरिएको छ ।
यतिबेला सामाजिक सञ्जालमा एक थ्रेड भाइरल भइरहेको जसमा प्रकृतिले ती पुरुषबाट अति नै दुव्र्यवहारको सामना गर्नुपरेको र उनले यो कुरा गत महिना विश्वविद्यालयको इन्टरनल रिलेसन्स अफिस (आईआरओ) मा पनि रिपोर्ट गरेको दाबी गरिएको छ । उनले रिपोर्ट गरेपनि कलेज प्रशासनबाट कुनैपनि सहयोग प्राप्त नभएको बताइएको छ ।
दुव्र्यवहार सहन नसकेरनै लम्सालले आत्महत्या गरेको स्रोतलाई उद्धृत गर्दै दाबी गरिएको छ । आरोपित पुरुष र लम्सालबिचको भनिएको एक भ्वाइस नोट पनि बाहिरिएको छ, जसमा ती पुरुषले लम्साललाई दुव्र्यवहार गरिरहेको सुन्न सकिन्छ । घटनापछि आक्रोशित विद्यार्थीहरूले विरोधका लागि सडकमा उत्रिएका छन् । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका छन् ।
प्रहरीले लम्सालको शव नियन्त्रणमा लिएर क्यापिटल अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ । पत्रकारसँग कुराकानी गर्दै विश्वविद्यालयका रजिस्ट्रार जयाना राजन मोहन्टीले प्रेम सम्बन्धमा रहेको र आफ्नो पार्टनरको दुव्र्यवहार सहन नसेर आत्महत्या गरेको बताएका छन् । प्रहरीले आरोपित पुरुषलाई पनि पक्राउ गरेको उनले जनाएका छन् ।

























