खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीमा ठूलो क्षति

खोटाङ । खोटाङको धार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि नियन्त्रणमा आएको छ ।

हलेसी तुवाचुङ नगरपालिका-७ हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा निभाइएको हो ।

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालर्यले जनाएको छ । आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो ।